पर्वत– म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जनामध्ये ७ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
पाँच जना कोरियाली र चार जना नेपाली नागरिकसहित ९ जनाको टोली गुर्जा हिमालको आधार शिविरमा पुगेका थिए।
_x000D_
_x000D_
उनीहरुको खोजीका लागि गएका स्थानीयवासीले तीमध्ये सात जनाको शव देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए।
_x000D_
_x000D_
यद्यपी सिम्रिक एयरको हेलीकोप्टरबाट आज बिहान गरिएको अनुगमनका क्रममा ट्रेकिङ गाइड लाक्पा शेर्पाले आठ जनाको शव देखिएको बताए। हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।
_x000D_
_x000D_
उनीहरुको शव आधार शिविरको खोच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको बताइएको छ। टोलीमा रहेका ९ जनामध्ये ७ जनाको शव देखिएको भएपनि दुईजनाको अवस्थाबारे पत्ता लाग्न नसकेको बताइएको छ।
_x000D_
_x000D_
घटनामा परी मृत्यु भएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन। घटनामा परी मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरुको खोजी गर्न आज बिहान ८ बजे सिम्रिक एयरको हेलिकप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भएपनि मौसमको खराबी र हेलीकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकको अभावमा हेलिकोप्टर फर्किएको थियो।
_x000D_
_x000D_
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार घटनास्थलमा देखिएका शवहरुलाई निकाल्न र बेपत्ता रहेका दुईजनाको खोजी गर्न गृह मन्त्रालयको समन्वयमा भोलि बिहान ७ बजेपछि फेरि पनि सिम्रिक एयरको हेलिकोप्टरलाई बोलाइएको छ।
_x000D_
_x000D_
उक्त हेलिकोप्टरमा प्राविधिकहरु रहनेछन्। यही असोज २१ गते गुर्जा हिमाल आरोहणका लागि १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको थियो।
_x000D_
_x000D_
त्यसमध्येका एकजना कोरियन नागरिक आफूलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका थिए। यही असोज २१ गते यात्रा प्रारम्भ गरेको टोली असोज २५ गते बिहानबाट सम्पर्क बिहीन भएको थियो।
_x000D_
_x000D_
पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।