काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संवैधानिक आयोगको आग्रहलाई बेवास्ता गरेको राष्ट्रपतिलाई आफूले जानकारी गराएको बताएका छन्। संसदको अन्तिम बैठकमा बोल्दै ओलीले सरकारले कानुन विपरीत मन्त्रिपरिषद विस्तार गरेकाले त्यसमा आफूहरुको आपत्ति रहेको जानकारी राष्ट्रपतिलाई गराएको बताए।
एमालेले आपत्ति जनाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी थिइन्। 'राष्ट्रपतिलाई मैले सरकारको कदमप्रति आपत्ति छ भनेर जानकारी गराएको हुँ,' ओलीले बैठकमा भने।
निर्वाचन आयोगले राष्ट्रपतिलाई मन्त्रिपरिषद विस्तारले निर्वाचनमा कुनै असर नपर्ने जानकारी गराएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको सपथ आजै साँझ ७ बजे तय गरेकी थिइन्।
राप्रपाबाट अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन् । थापाले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय सम्हाल्ने भएका छन् । यसैगरी, उद्योग, सहरी विकास र आपूर्ति मन्त्रालय पनि राप्रपाले पाउने भएको छ।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चामा सहभागी भएपछि राप्रपा सरकारमा गएको हो। थापासहित मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ। यस्तै, राज्यमन्त्रीका रुपमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई पनि सरकारमा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।