काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो दलले कांग्रेस र एमाले दुबैसँग सहकार्य नछाड्ने बताएका छन्।
व्यवस्थापिका संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेससँग र वैचारिक हिसाबले एमालेसँग सहकार्य गर्दै माओवादी केन्द्र अघि बढ्ने बताएका हुन् । उनले एमालेसँगको चुनावी तालमेल कांग्रेस विरुद्ध नभएको भन्दै यसबाट नअत्तालिन कांग्रेसलाई आग्रह गरे।
'हाम्रो तालमेल कांग्रेस विरुद्ध होइन । संविधान अनुसार हुने शान्तिपूर्ण निर्वाचनमा सहभागी हुने अधिकारका लागि एमालेसँग हाम्रो सहकार्य हो', प्रचण्डले भने।
माओवादी केन्द्रले सबै दलसँग सहकार्य गरेर परिवर्तनलाई संस्थागत गर्न अघि बढ्ने प्रचण्डको भनाइ छ। एमाले र माओवादी केन्द्रको सहकार्यले कम्युनिस्ट शासन आउने भनेर प्रचारबाजी भइरहेको भन्दै उनले दुई दलको सहकार्य कम्युनिस्ट शासन स्थापना गर्न नभएको बताए । उनले दुई दलको सहकार्यलाई राजनीतिक रुपमा बुझिदिन सबैलाई अपिल समेत गरे।
'हामीले लुकिछिपी कसैविरुद्ध बेइमानी वा षड्यन्त्र गर्न सहकार्य गर्न खोजेका होइनौं । यसलाई राजनीतिक रुपमा बुझिदिनुहोला', उनले भने।
वर्तमान संसदले संविधान संशोधन गर्न नसकेको भन्दै उनले आगामी संसदको कार्यभार पनि संविधान संशोधन रहेकाले सबैले त्यसलाई एजेन्डा बनाएर निर्वाचनमा जानुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।