नयाँ दिल्ली (एजेन्सी) – कैयौं बलिउड फिल्ममा विभिन्न भूमिकामा अभिनय गरेका कादर खानले दर्शकमा विशेष छाप छोडेका छन् । खासगरी कमेडी जनराको फिल्ममा हिरोइनको सोझो पिताका रुपमा उनको भूमिका अधिक रुचाइयो, जो हिरोको जालझेल र प्रपञ्चबाट आजित बन्थे।
फिल्ममा अक्सर चुलबुले अन्दाजमा देखिने उनी पछिल्लो समय भने बुढ्यौलीले गलेका छन् । पछिल्लो समय उनी आफ्ना छोरा-बुहारीसँग क्यानडामा बस्छन् । ७९ वर्षीय उनी अब कसैको सहारा नलिई हिँड्न सक्दैनन् । उनलाई बोल्न पनि गाह्रो हुन्छ।
कादरकी बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा बताए अनुसार उनलाई बोल्न कठिनाइ हुने गरेको छ । बोल्न नसके पनि उनी सबैलाई चिन्छन्।
बुहारी शाइस्ता भन्छिन्, 'म मेरा दुई छोरी साइमा र हम्जासँग मिलेर उहाँको हेरचाह गर्छौं । उहाँलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने ख्याल गर्छौं।'

क्यानडामा छोरा सरफराजसँग
बलिउडमा फेरि फर्कलान् ?
कादर खानले करिअरको सुरुवात सन् १९७२ मा आएको फिल्म 'दाग' बाट गरेका थिए । यसका साथै उनले 'अदालत' (१९७६), 'परवरिश' (१९७७), 'दो और दो पाँच' (१९८०), 'याराना' (१९८१), 'खुन का कर्ज' (१९९१), 'दिल ही तो है' (१९९२), 'कुली नं. 1' (१९९५), 'तेरा जादू चल गया' (२०००), 'किल दिल' (२०१४) सहित कैयौं फिल्ममा काम गरेका छन् ।
उनले अभिनय गरेको पछिल्लो फिल्म २०१५ मा बनेको 'हो गया दिमाग का दही' हो।
कादरका छोरा सरफराजले केही दिनअघि दिएको एक अन्तर्वार्तामा बताएका थिए, पितालाई हिँड्न समस्या हुने गर्छ । उनलाई दुवैतर्फ सहारा दिएपछि मात्र हिँड्न सक्छन्।
सरफराजले भन्छन्, 'पिताजीको घुँडाको सर्जरी पनि गरिएको थियो । सर्जरी सफल भएको दोस्रो दिनमै डाक्टरले उहाँलाई हिँड्ने सल्लाह दिएका थिए।'
तर, कादरले हिँड्ने हिम्मत जुटाउन सकेनन्।
कादर खान भारत फर्केर फेरि फिल्ममा काम गर्छन् त ? यो प्रश्नमा छोरा सरफराजले पितासँग क्यानडाको नागरिकता भएको बताउँदै भने, 'उहाँ भारत जानुहुनेछ, तर अब फिल्ममा काम गर्नुहुन्न । फिल्म उद्योगप्रति उहाँको मोहभंग भइसकेको छ। '
फिल्म उद्योगप्रति कादरको किन मोहभंग भयो त ? सरफराजले भने, 'अहिले बलिउडको माहौल बदलिएको छ । मित्रता-सम्बन्ध सिद्धिसकेको छ । अहिले मान्छेहरु काममा मात्र ध्यान दिन्छन्।'
कादरका हितैषीहरुले फिल्ममा फर्किन आग्रह गरे पनि उनी आफ्नो अडानमा अटल रहेको सरफराजले सुनाए।
गोविन्दा र शक्ति कपुरसँग उनले धेरै फिल्ममा काम गरेका छन् । उनी आफ्ना ती कमेडी-सहयात्रीलाई चिन्छन् त ? सरफराजले भने, 'पक्कै चिन्नुहुन्छ । उहाँलाई बोल्न मात्र समस्या हो । निकै ढिलो बोल्नुहुन्छ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।