काठमाडौं– जेन-जी आन्दोलनमा प्रहरीलाई घेरा हालेर हत्या गरेको कसुरमा थप ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो ।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर हुन् ।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो ।
उनीहरुले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए । अचेत भएपछि घिसारेर मुख्य सडकको बीचमा पुर्याएका थिए । त्यहाँ पनि कुटपिट हुँदा उनीहरुको ज्यान गएको थियो ।
यसअघि गत सोमबार गोरखा भई धुम्बाराही बस्ने २१ वर्षीय सोमबहादुर गुरुङ पक्राउ परेका थिए । सोही घटनासँग सम्बन्धित युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होमप्रसाद पौडेल र टिकाराम विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।