काठमाडौं– एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते हुने पोखरामा हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २२औं संस्करणको मिति र स्थान सार्वजनिक गरेको हो । पोखरामा हुने स्पोर्टस अवार्डमा २०८१ सालभर नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने मञ्चले जनाएको छ ।
स्पोर्टस अवार्डको २२ औं संस्करणमा १० विधा समावेश गरिएको मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवाका साथै वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहेको उनले बताए ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा विधा र पिपल्स च्वाइस अवार्ड बिजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने र अन्य विधाका विजेता तथा सम्मानीत व्यक्तिलाई रु एक लाख रुपैया प्रदान गरिने महासचिव खड्काले जानकारी दिए ।
वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने मञ्चले जनाएको छ । यसैबीच मञ्चले पल्सर स्पोट्र्स अवार्डका लागि गोल्छा ग्रुपको पल्सर मोटरसाईकलसँग पाँच वर्षको सम्झौता पनि नविकरण गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।