काठमाडौं- पछिल्लो समय लोकप्रिय गीतको कभर बनाउने प्रचलन बढ्दो छ। हिजोआज नेपालीहरुले पनि गाएका अंग्रेजी गीतका कभर युट्युबमा छयापछ्याप्ती हेर्न पाइन्छ।
लोकप्रिय अंग्रेजी गीत नेपाली बाजाको तालमा तयार पारेर गाएको उदाहरण भने धेरै कम छ। यस्तै एउटा उदाहरण बनेको छ, नेपाली सांगीतिक समूह ‘जटायु’।
बेलायती गायक एड सिरनको ‘सेप अफ यू’को उत्कृष्ट ‘कभर सङ’बाट जटायु मात्र चर्चामा छैन, नामै नसुनिएकी यो समूहकी गायिका पाल्साङ लामा छाइरहेकी छिन्। यो गीतमा उनीहरुले मादल, सारंगी, तबला, बाँसुरी लगायत नेपाली बाजाको फ्युजन गराएका छन्।
जटायु म्युजिकल ब्यान्ड दुई वर्षअघि स्थापना भएको थियो। तर, यसको चर्चा खासै थिएन। कलेजका केही कार्यक्रममा मात्र गाउने पाल्साङलाई ‘सेप अफ यू’ को कभरले नेपाली युट्युबरबीच पृथक् पहिचान दिलाएको छ।
उनी राजधानीको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा सोसल वर्क विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।
पाल्साङको स्थानीय घर दोलखा हो। राजधानीमा उनी बुवाआमा र भाइसँग बस्छिन्। उनी गाउन मात्र होइन, विभिन्न बाजा बजाउन पनि उत्तिकै पोख्त छिन्। उनलाई सबैभन्दा मनपर्ने बाजा हो, गितार।
गितार बजाउँदै अंग्रेजी र नेपाली गीत गुनगुनाउन उनलाई निकै आनन्द लाग्छ।
अहिले उनी अध्ययन र जटायुसँग विभिन्न कभर गर्न मात्र व्यस्त छिन्। उनको तत्कालै जागिर खाने सोच छैन। भन्छिन्, ‘अहिले कुनै जब गरेको छैन । सोसल वर्क ट्रेनी मात्र हुँ।’
उनले गाएको ‘सेप अफ यू’ को कभर युट्युबमा रिलिज भएको चार महिना नाघिसक्दा भ्युज संख्या १० लाख ६० हजारको हाराहारीमा छ। कमेन्ट नै ३६ सयभन्दा बढी छन्। गायन र संगीत दुवैको विदेशीले समेत प्रशंसा गरेका छन्। तर पनि यी गायिका आफूलाई सेलिब्रिटीको मात नचढेको बताउँछिन्।
कभर सङको म्युजिक भिडियो तयार पार्दा भने निकै गाह्रो भएको उनीसँग अनुभव छ। दोस्रो भिडियो भए पनि सुरुसुरुमा निकै अप्ठेरो परेको उनले बताइन्। आफूलाई र सारंगीवादक स्यामुएल गन्धर्वलाई म्युजिक भिडियो तयार पार्दा फेसियल एक्सप्रेसनका कारण धेरै टेक लिनुपरेको थियो। ‘मलाई र उसलाई (स्यामुएल) एक्सप्रेसन ल्याउन निकै कठिन भएको थियो,’ पाल्साङ भन्छिन्, ‘पूरै भिडियो रेकर्ड गर्न ५-६ घन्टा लागेको थियो। मेरो ओके हुँदा उसको नहुने। उसको हुँदा मेरो नहुने।’
भिडियो रेकर्डिङ गर्दा ४-५ घन्टा लगातार सुटिङ गर्नुपरेको पनि उनले बिर्सिएकी छैनन्। ‘बीचबीचमा ब्रेक हुन्छ। दुई-तीनपल्ट सुट गर्यो अनि कस्तो भयो भनेर भिडियो चेक गर्यो, फेरि खाजा खाने ब्रेक,' उनी सुटिङको वर्णन गर्न थालिन्, 'एक त दिनहुँ कभर तयार गर्ने र भिडियो सुट हुँदैन, वन्स इन अ मन्थजस्तो अडियो/भिडियो रेकर्ड हुने भएकाले दिक्क लाग्दैन। पछि भिडियो हेर्दा केके नमिलेको लागेपछि हाँसउठ्ने हुँदो रहेछ।’
उनले गाएको ‘सेप अफ यू’ को कभर युट्युबमा रिलिज भएको चार महिना नाघिसक्दा भ्युज संख्या १० लाख ६० हजारको हाराहारीमा छ। कमेन्ट नै ३६ सयभन्दा बढी छन्। गायन र संगीत दुवैको विदेशीले समेत प्रशंसा गरेका छन्। तर पनि यी गायिका आफूलाई सेलिब्रिटीको मात नचढेको बताउँछिन्।
गायनको कुनै प्रशिक्षण नलिएकी उनी सानो छँदा सुरुमा हिन्दी र नेपाली गीत गुनगुनाउँथिन्। छ-सात कक्षा पुगेपछि भने उनले अंग्रेजी गाउनै थालिसकेकी थिइन्। 'साथीहरूसँग भने गाउँछु तर प्रोग्राममा कहिल्यै हिन्दी गाएको छैन। नेपाली पनि गाउँछु, अंग्रेजीभन्दा थोरै र हिन्दीभन्दा धेरै,’ उनले भनिन्।
स्कुलमा भइरहने कार्यक्रममा पनि उनी त्यतिसाह्रो देखिँदैन थिइन्। १० कक्षासम्म पढ्दा दुई-तीनपल्ट मात्र गाएको उनलाई सम्झना छ। 'अझ प्लस टुमा पढ्दा त एकैपल्ट पनि गाइन,' हाँस्दै सुनाउँछिन्, 'त्यसबेला त म गाउँछु भनेर कलेजमा कसैलाई थाहा थिएन। किनकि त्यस खालको वातावरण पनि भएन।’
जब उनले स्नातक सुरु गरिन्, सांगीतिक यात्राको अर्को स्टेप सुरु भयो। आफ्ना साथीहरु पनि गीतसंगीतमै रमाउने भएपछि उनी त्यसबाट अलग हुनै सकिनन्।
कलेजमा कुनै गीत प्रस्तुत गर्नुछ भने पहिले अडिसन लिइन्थ्यो, यसले पनि उनलाई खार्न अझ मद्दत गर्योर। 'अडिसनको लागि हामी प्राक्टिस गर्थ्यौं। भाग लिनभन्दा पनि रमाइलोका लागि,' भन्छिन्, 'रमाइलो गर्ने भनेर प्राक्टिस गर्यो , अनि अडिसन। त्यसपछि सेलेक्ट भइयो भने प्रोग्राममा गाइन्थ्यो।’
अहिलेसम्म उनले १० वटाजति कार्यक्रममा मात्र आफ्नो स्वरले दर्शकलाई मुग्ध पारेकी छन्। त्यो पनि स्कुल, कलेज र कलेजका फन्डरेजिङ इभेन्टसमेत गरेर। उनी अहिलेसम्म कुनै गायन प्रतिस्पर्धामा पनि सहभागी भएकी छैनन्, एकपल्ट स्कुलको सिंगिङ कम्पिटिसनभन्दा बाहेक।
कसरी जोडिइन् त जटायुसँग?
कलेजमा अर्को सेक्सनमा पढ्ने साथीमार्फत जटायुसँग जोडिएको उनी सम्झन्छिन्। ‘जुन साथीले मलाई निरन दाइसँग भेट गरायो ऊ कलेजकै अर्को सेक्सनको थियो। मैले कलेजको प्रोग्राममा गाएको उसले देखेको रहेछ,’ उनले भनिन्, ‘इन्स्टाग्राममा गीत हालेको सुनेपछि दाइलाई मेरो बारेमा भनेछ।’

जटायु ब्यान्डका सदस्यहरु
पाल्साङका बुबाआमा संगीतलाई सोखका रुपमा मात्र लिन सल्लाह दिन्थे। जब ‘सेप अफ यू’को कभरबाट एकाएक उनी हिट भइन्, अभिभावकको सोच परिवर्तन भएको छ। 'अहिले त बुबाआमाले पनि गीतसंगीतमै लाग्ने भए पनि ठिकै छ भन्न थाल्नुभएको छ,' अब उनलाई कुनै तगारो छैन।
गीतसंगीतलाई नै तत्काल करिअर बनाउने पक्षमा छैनन् उनी। तर यसलाई चटक्कै छाड्न पनि सक्दिनन्। ‘म्युजिक इज अ पार्ट अफ माई लाइफ। म्युजिकसँगै अध्ययन पनि अघि बढाउँछु,’ अध्ययनपछिको सोसल वर्क रिलेटेड कुनै काम गर्ने उनको इच्छा छ।
गायनलाई नै पेसा बनाउन सकिँदैन भन्ने प्रश्नको जवाफमा उनी ‘म्युजिक क्रिएटिभ काम भएकाले नाइन टु फाइभ जब बनाउन कठिन हुने बताउँछिन्। 'जतिबेला भाइब आउँछ, त्यतिबेला गीतसंगीत बनाउने हो। दिनहुँ बिहान उठेर म्युजिक गर्न सकिँदैन, त्यसैले गायन मेरो सोख मात्र हो,’ उनी प्रस्ट छिन्।
गायन पनि त एउटा पेसा भएकोमा नकार्दिनन् उनी। ‘आई डु नट वान्ट टु चुज म्युजिक एज प्रोफेसन,' उनको बुझाइ छ, 'म्युजिक नराम्रो प्रोफेसन होइन, गर्नेले राम्रोसँग गरिरहनुभएको छ।
नेपालमा संगीतलाई व्यावसायिक बनाउन धेरै संघर्ष गर्नुपर्ने भएकाले सधैं अरुबाट साथ पाउन गाह्रो हुने उनले सोचेकी रहिछन्। 'एट द मोमेन्ट, म्युजिकमा प्रोफेसनल सिंगर बन्ने इन्टेन्सन छैन,' तर पनि उनले सम्भावनालाई मर्न दिएकी छैनन्, 'पछि हुन सक्छ, बट नट राइट नाउ।’
‘सेप अफ यू’को लोकप्रियताले पनि म्युजिकमै करिअर बनाउन सकिन्छ भनेर उनलाई अहिलेम्म आँट आएको छैन।
‘पजेटिभ रेस्पोन्स आएपछि खुसी लाग्नु स्वाभाविक हो, इन्करेजमेन्ट फिल हुन्छ। मैले यस्तै आउटपुट दिँदै गएँ भने सपोर्ट चाहिँ पाइरहनेछु, जसरी अहिले पाएकी छु,' यतिमात्र भन्छिन् उनी।
पाल्साङले गाएको कभर सङ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।