काठमाडौं– नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइदिएको छ।
गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे।
यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ।
धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन्। यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ।
त्यस्तै, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने गभर्नर पौडेलले बताए। साथै चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
कर्जा नोक्सानी व्यवस्थालाई पनि आवश्यकता अनुसार पुनरवलोकन गरिने भएको छ। यसका साथै तीन करोडसम्म प्रवाह भएको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने मौद्रिक नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।