काठमाडौँ– सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरेका हुन्।
सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएको विषयमा जिज्ञासा राखे।
सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरे।
सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए।
सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।
सांसदहरु दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले, वासुदेव घिमिरेले मनसुनजन्य घटना बृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपतकालीन उद्धार, राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।