काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ बजे अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको हो। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। सावाँ ब्याज भुक्तानी आजै हुने राष्ट्र बैंकले जनाएको छ।
बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।
निक्षेप सङ्कलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । अहिले कुल निक्षेप ७० खर्बमाथि पुगेको छ। बैंकमा ठुलो मात्रमा निक्षेप थुप्रिए पनि लगानी हुन सकिरहेको छैन।
लगानीकर्ताको आत्मविश्वासमा अझै पनि कमी रहेको बैंकबाट प्रवाह हुने कर्जा बढ्न नसक्नुले पनि पुष्टि गरेको छ। कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भए पनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।