काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन् । स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा शनिबार अपराह्न ५ बजे पत्रकारसँग कुराकानी गर्नेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६/१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाटसमेत हुने दूतावासले जनाएको छ । उनी यही असार २० गते स्वदेश फर्किनेछन् ।
नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेशा तथा व्यवसायमा करिब २० हजार नेपाली रहेको अनुमान छ । उनीहरूमध्ये विशेषगरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।