कैलाली– कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले नाथविरुद्व किटानी जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। ‘जाहेरी दर्ता भइसकेको छ,’ डीएसपी सिंहले भने, ‘अब शव परीक्षण गरेर परिवारलाई बुझाउने तयारी छ।’
मृतक पाली दोषी ठहर भएको बैंकिङ कसुर मुद्दा प्रहरीका सई नाथले नै दिएका थिए। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २९ फागुन २०८० मा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो।
बैंकिङ कसुरमा दोषी ठहर भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पालीलाई २९ जेठमा पक्राउ गरेको थियो। डडेल्धुरा प्रहरीले एक दिन थुनामा राखेर ३० जेठमा कैलाली प्रहरीलाई बुझाएको थियो। कैलाली प्रहरीले भने १ असारमा मात्रै पालीलाई कैलाली कारागारमा बुझाएको थियो।
कारागार चलान भएको दोस्रो दिन नै पालीको मृत्यु भएपछि आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्। मृतक पालीकी श्रीमती जानकीले दिएको जाहेरीमा आफ्ना श्रीमानमाथि सई पालकै योजनामा कुटपिट गरेर हत्या गरिएको दाबी गरिएको छ।
घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।