काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।
पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट रु ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।
पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।