काठमाडौं– हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ।
उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो।
अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ। चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेर उनीहरू फरार रहेका छन्। उनीहरू अदालतमा बयानका लागि पनि उपस्थित भएका थिएनन्।
मिश्र र राणा सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराएका थिए।
बिहीबार अदालतबाट जारी दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेशको पूर्ण पाठमा मिश्र र राणाबारे केही उल्लेख गरिएको छैन। ‘अभियोग दर्ता भएको दिन स्रेस्तेदारबाट नै उपस्थित गराइएका प्रतिवादीहरूलाई बयानको लागि इजलास समक्ष पेस गर्नु र अनुपस्थित रहेका र फरार प्रतिवादीहरूको हकमा कानुन बमोजिमको पक्राउ पुर्जी जारी गर्नु भनेर आदेश जारी भएको थियो,’ श्रोतले भन्यो।
मिसिल अहिलेसम्म बयान र थुनछेकको लागि व्यस्त रहेकोले पक्राउ पुर्जी जारी हुन नसकेको स्रोतको भनाइ छ। फाँटले पुर्जी जारीको प्रक्रिया अघि बढाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।