संयुक्त राष्ट्रसंघ- म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिंग्या शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ।
गएको दुई दिनमा मात्र १४ हजार रोहिंग्या मुसलमान बङ्गलादेश पुगेका राष्ट्रसंघले जनाएको छ। यो सँगै बङ्गलादेश पुगेका शरणार्थीहरु ५ लाख ३६ हजार पुगेको संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले जानकारी दिए।
संयुक्त राष्ट्रसंघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यान आउँदो मङ्गलबारसम्म म्यानमारमा रहने र यस विषयमा आवश्यक परामर्श गर्ने पनि फारहानले बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गर्दै आएको उनको भनाइ छ।
म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिंग्या मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन्।
सरकारी सैनिकको दमनको कारण ती मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाइ छ। तर सरकारले यस प्रकारको दमन नभएको दाबी गर्दै आएको छ।
बङ्गलादेशको कोक्स बजारमा निकै थोरै क्षेत्र र शिविरहरुमा ती शरणार्थीहरु बस्दै आएका छन्। उनीहरुलाई खाना र आवश्यक आधारभूत आवश्यकताको पनि पूर्ति हुन सकिरहेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।