काठमाडौं– निजी क्षेत्रले सरकारले ल्याएको बजेटले आफूहरु उत्साहित भएको जनाएका छन् ।
बिहीबार सरकारले बजेट सार्वजनिक गरेपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले निजी क्षेत्रले दिएका सुझावहरुलाई समेटेर बजेट आएको भन्दै उत्साह देखिएको धारणा राखेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटिएको बताए ।
यसअघि बजेटमा रहेका विषयहरु कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै उनले अहिले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्दै जाने सरकारको प्रतिबद्धता सकारात्मक रहेको बताए।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई समेटेर बजेट आएकाले सकारात्मक रहेको बताए । सरकारले राखेको राजस्वको लक्ष्य समेत सम्भव रहेको उनले बताए । उनले बजेटलाई प्रभावकारी रुपमा कार्यान्यन गर्न सके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन सक्ने धारणा राखे ।
त्यस्तै अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटलाई मुस्कानका साथ स्वागत गरिएको बताए । नाडाको मागलाई सरकारले अर्थपूर्ण रुपले समेटेको बताए ।
अन्य व्यवसायीहरुले अब सरकारले बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।