काठमाडौं– सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत् राखेको छ ।
बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए ।
विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको पौडेलले बताए ।
‘विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यस्ता सवारी साधनमा लाग्दै आएकव करलाई यथावत राखेको छु’ भन्नेबित्तिकै सदनमा हाँसो गुञ्जियो । अघिल्लो कुर्सीमा बसेका सांसदहरुले हाँस्दै गर्दा अर्थमन्त्री पौडेलले पनि मुस्कान फर्काएर अगाडि बढेका थिए ।
यस्तै नेपालमा बसी सूचना प्रविधिको काम गरी गने आयमा आयकरको दर ५ प्रतिशत आयकर लाग्ने र त्यो नै अन्तिम हुने पौडेलले बताए । साथै सूर्तीजन्य पदार्थ तथा मदिरामा करको दर बढाउने घोषणा उनले गरे । अर्थमन्त्री पौडेलले भ्याट, अन्तःशुल्क र आयकर कानुनमा परिमार्जन गर्ने उनले बताए ।
यसैगरी भ्याटमा बहुदर लगाउन अध्ययन गर्ने घोषणा पनि उनले गरे । सूचना प्रविधिमा आधारित उद्योग र होटललाई आयकर छुट दिने घोषणा उनको छ । फुटबल, क्रिकेट र रंगशालाका लागि आवश्यक सामग्री आयातमा १ प्रतिशत मात्रै भन्सार लिने सरकारको बजेटमा उल्लेख छ ।
विद्युतीय सवारीसाधन एसेम्बलिङ उद्योगलाई १ प्रतिशत मात्रै भन्सार लाग्ने उनको भनाइ छ । निजी क्षेत्रले टनेल बोरिङ मेसिन आयात गर्दा १ प्रतिशत भन्सार लिने उनले बताए ।
डिजिटल भुक्तानी समायोजनमा लाग्दै आएको भ्याट खारेज गरिएको छ । त्यस्तै विभिन्न फलफूल तथा तरकारीको आयातमा लाग्दै आएको अग्रिम आयकर पनि खारेज भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।