काठमाडौँ– १५ जेठका लागि राप्रपासहितका राजावादी समूहले तोकेको प्रदर्शन कार्यक्रम सकिएको छ।
प्रदर्शन सकिएपछि भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यो कास्टिङ मात्र भएको भन्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर हुने बताएका हुन्।
कार्यक्रमबाट एउटा सन्देश गएको भन्दै राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेता कमल थापाले बताए।
‘जहाँ जहाँबाट तपाईंहरु समूहमा आउनु भयो, त्यही ठाउँमा भोलि १२ बजे जम्मा भएर फेरि जुलुस हुँदै काठमाडौंका सबै शहरमा नारा जुलुस लगाउँदै, काठमाडौंलाई उठाउँदै जगाउँदै आउनु होला’, उनले कार्यकर्तालाई आह्वान गर्दै भने, ‘दिनको १ बजेसम्ममा माइतीघर मण्डला र विजुली बजार क्षेत्रमा आउनु होला।’
कार्यक्रम अवधिभर घुसपैठ गर्न खोजेको आरोपमा राप्रपा नेता, कार्यकर्ताले ३ जनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन्।
उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका हुन्।
पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय भक्तबहादुर कार्की, पर्वत घर भएका २२ वर्षीय घनश्याम न्यौपाने र भारतीय नागरिक २३ वर्षीय वृजमोहन राय छन्। उनीहरू शान्तिबाटिका र भोटाहिटीबाट पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।