काठमाडौं- केही दिनअघि मात्रै निर्माण भएको वाम गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपाल बाहिरिएको छ।
सिट भागबण्डामा सहमति नभएपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आजैबाट गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो।
आसन्न प्रदेश र प्रतिनिधिसभामा पार्टीले अब आफ्नै चुनाव चिह्न आँखा लिएर निर्वाचनमा जाने भएको छ। यसअघि एमालेको सूर्य चिह्न लिएर चुनावमा जाने नयाँ शक्तिले सहमति गरेको थियो।
आज बसेको पार्टीको संघीय सचिवालयको विस्तारित बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो। गत असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम गठबन्धन बनेको थियो।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अस्वीकार गर्ने राजनीतिक पार्टी, व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने पनि पार्टीले निर्णय गरेको छ।
आसन्न चुनावमा अब बाबुराम भट्टराई आँखा चिह्न लिएर गोरखा–२ बाट चुनाव लड्ने भएका छन्। यस्तै कृष्णकुमार चौधरी कैलाली–३ बाट, दानबहादुर चौधरी कपिलबस्तु–१ बाट, प्रेम तामाङ रसुवा, मदन राई खोटाङबाट उम्मेदवार सिफारिस भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।