काठमाडौं- नेपाल धर्म संस्कृति अध्ययन संघ (एएससिआर-नेपाल)ले नेशनल कलेजसँगको सहकार्यमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
संघले धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अगाडि बढाउने उदेश्यसहित आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो।
सम्मेलन यही वैशाख ११ र १२ गते अर्थात अप्रिल २४-२५ तारिखका दिन नेशनल कलेज, धुम्बाराही काठमाडौंमा हुने तय भएको छ।
सम्मेलनको थिम 'ब्रिजिङ पास्ट एण्ड प्रिजेन्टः सेलिब्रेटिङ कल्चर, अन्डरस्ट्यान्डिङ रिलिजन’ रहेको नेपाल धर्म संस्कृति अध्ययन संघका अध्यक्ष प्राडा सोम प्रसाद खतिवडाले बताए।
३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने उक्त सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ताहरू, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पुर्याउने प्राडा खतिवडाले जानकारी दिए।
युवा अनुसन्धानकर्ताहरूका लागि विशेष रूपमा तयार पारिएको ऐकेडेमिक राइटिङबारे ११ गते पहिलो सेमिनारले हुनेछ भने १२ गते विभिन्न सब थिममा प्यारालल सेसन हुनेछन्।
सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधी सहभागी हुने छन्।
सम्मेलन पश्चात प्राप्त अनुसन्धानमुलक लेखलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा समेत प्रकाशित गरिने सह-आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताए।
प्राचार्य न्यौपानेका अनुसार कार्यक्रमको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले तथा प्रमुख वक्ता त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्टार प्राडा पेशल दाहाल हुने छन्। उक्त कार्यक्रममा सहभागी हुन चाहनेले रजिस्ट्रेशन गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।