बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानुनलाई हातमा लिन खोज्नेहरु जो कोहीलाई पनि कडा कानुनी कारबाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन्।
_x000D_
_x000D_
उनले संगठित शक्ति (सिण्डिकेटर), डन संस्कृति आदिका माध्यमबाट पनि शान्ति सुरक्षा र सुशासनलाई प्रभाव पार्ने काम भए त्यस्ता क्रियाकलाप तत्काल रोक्न पनि सुरक्षा अंगलाई निर्देशन दिएका हुन्।
_x000D_
_x000D_
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले असंवैधानिक र काननु विपरित काम गर्नेहरुलाई कडाइका साथ कानुनी दायरामा ल्याउँदै सोही प्रकृतिका थप घटनाका लागि निरुत्साहित गर्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा कायम राख्न सबै सुरक्षा निकायले जनतासँग जोडिएर काम गर्नुपर्नेमा जोड दिए। जनतासँग जोडिएर काम नगर्ने, जनताको विश्वास नजित्ने सुरक्षा निकायले प्रभावकारी काम गर्न नसक्ने ठोकुवा गर्दै उनले जनतासँगको सम्बन्ध जीवन्त बनाउन सुझाव दिए।
_x000D_
_x000D_
सुरक्षाको विषय स्थानीय, प्रदेश र संघको भनेर छुट्याउन नमिल्ने भन्दै पोखरेलले कन्चनपुर घटनाले सिंगो देशमा तरंग ल्याएको भन्दै उदाहरण दिए। अपराधी पहिचान हुन समय लाग्नसक्ने तर नागरिकले अनुसन्धानमा सुरक्षा निकायको कमजोरी महसुस गरे त्यहाँ अविश्वास र समस्या पैदा हुने उनको भनाइ थियो।
_x000D_
_x000D_
कन्चनपुर घटनामा अनुसन्धानमा हेलचक्र्याइँ देखिएकाले सुरक्षा निकायप्रति आक्रोश पैदा भएको उदाहरण दिँदै पोखरेलले अनुसन्धानमा इमान्दारिता देखाउन निर्देशन दिए। ‘कतिपय अवस्थामा घटना र अनुसन्धानलाई प्रभावित पार्न अपराधीहरुको पनि घुसपैठ हुनसक्छ। त्यस्ता व्यक्तिलाई समयमै पहिचान गर्नुपर्छ।’, पोखरेलले भने।
_x000D_
_x000D_
मुख्यमन्त्री पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि ‘अधिकारको लडाइ टुंगिएको छैन’ भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताए। उनले भने, ‘संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको छ। तर, कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेका छन्, यसमा सबै पक्ष सजग हुनुपर्दछ।’
_x000D_
_x000D_
संविधानमा केही कमी भए संविधानकै आधारमा समाधान गर्न सकिने तर्क गर्दै मुख्यमन्त्री पोखरेलले संविधान बाहिरबाट निकास ननिस्कने स्पष्ट पारे।
_x000D_
_x000D_
गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा मानबहादुर विकले प्रदेशभित्रको शान्ति सुरक्षा कसरी सबल र सक्षम बनाउने भन्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिए।
_x000D_
_x000D_
गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका पृतनापति सहभागी छन्। १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, चुनौती, समस्याको समाधान र महिला हिंसा, सवारी दुर्घटना, लागूऔषध नियन्त्रण, चोरी निकासी नियन्त्रणमा गरिएका उपायहरुबारे ‘ब्रिफिङ’ गर्नेछन्।
_x000D_
_x000D_
यस्तै, प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालयले प्रदेशको ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरणको प्रयास, चुनौती र योजना, राष्ट्रिय अनुसन्धान निर्देशकबाट सूचना संकलन तथा वितरणको अवस्था, प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतबाट समष्टिगत सुरक्षा अवस्था र योजनाको बारेमा जानकारी गराउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।