सम्पर्कविहीन भएका गोठालाहरु सम्पर्कमा आएपछि उद्धारका लागि जान तयार भएको टोली
जुम्ला– लगातार हिमपातपछि सम्पर्कविहीन भएका चन्दननाथ–८ का भेडापालक किसान सम्पर्कमा आएका छन्। उनीहरूले आफन्तलाई फोन गरेर आफूहरू सुरक्षित रहेको जानकारी दिएका हुन्।
भेडापालक बिर्ख धरालाले शुक्रबार अपराह्न फोन गरी आफूहरू पाटनको धतौरामा सुरक्षित रहेको बताएका थिए। तर भेडाहरूको अवस्था भने थाहा नभएको उनले जानकारी गराएका छन्।
बिहीबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले चिसो बढेको र थप हिउँ परे जोखिम बढ्ने भन्दै गोठालाहरूले उद्धारका लागि आग्रह गरेका छन्।
उनीहरूको उद्धारका लागि प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा ८ सदस्यीय टोली पाटनतर्फ गएको छ। टोलीमा सात सुरक्षाकर्मी, एक नगर प्रहरी तथा दुई जना आफन्त सहभागी छन्।
टोली शुक्रबार राति फुलचौंल्या धर्मशालामा बस्ने र शनिबार बिहान गोठालाहरू रहेको क्षेत्रतर्फ अघि बढ्ने जनाइएको छ।
भेडापालकहरू गत जेठमा भेडा लिएर पाटन पुगेका थिए। हिउँ परेपछि उनीहरूको घर फर्किने योजना रोकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।