जनकपुरधाम –सिरहाको औरही गाउँपालिका- ५ मा अछूत भन्दै घरमा डोजर चलाएको घटनाका तीन आरोपीविरुद्ध पीडितले प्रहरीमा जाहेरी दिएका छन्।
पीडित दीपक मल्लिकले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबामाथि जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।
गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष हिजैदेखि प्रहरी नियन्त्रणमा छन्। बजरंगी बाबा भने फरार रहेको प्रहरीले जनाएको छ।
सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पीडित परिवारको जाहेरी प्राप्त भएको बताए। उनले जाहेरी आएपछि कानूनी कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए।
जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।
चैत १७ गते सुरु हुने भनिएको विष्णु महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घरमा डोजर चलाइएको थियो। उक्त घटना सार्वजनिक भएपछि संघ र प्रदेशको संसदमा सांसदहरुले आरोपीहरुलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।