काठमाडौं –फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिलविरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा भएको छ । जसमा स्टार खेलाडी लिओनल मेसी भने समावेश छैनन् । उनको मसल स्ट्रेनका कारण टिममा राखिएको छैन ।
मेसीले आसन्न दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाउने भएका छन् । मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन् । अमेरिकी मेजर सकर लिग (एमएलएस) अन्तर्गत एटलान्टा विरुद्ध खेलमा मेसीको मसल्समा समस्या देखिएको थियो । त्यसैले गर्दा ३७ वर्षीय मेसी सोमबार घोषित अर्जेन्टिनी टिममा अटाएनन् । मेसी रिभकरीका लागि अमेरिकामै रहनेछन् ।
विश्वकपको दक्षिण अमेरिकी (कनमेबोल) छनोटमा अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिनाले छनोटको दोस्रो स्थानको रहेको उरुग्वेविरुद्ध सोमबार खेल्नेछ ।
त्यसपछि अर्जेन्टिनाले मार्च २५ मा घरेलु मैदानमा ब्राजिलसँग खेल्नेछ । ब्राजिलको टिममा पनि स्टार खेलाडी नेमार छैनन् । झण्डै एक वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्ने तयारीमा रहेका नेमार मसल इन्जुरीकै कारण टिमबाट बाहिर छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।