सान जोसे (कोस्टारिका)- युनिभर्सिटी फर पिसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ।
_x000D_
_x000D_
आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए। 'यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको काम प्रशंसनीय छ,' उनले भने।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताए। राष्ट्रसङ्घको महासभाको ७३औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको पनि उनले जानकारी दिए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताए। व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने धारणा उनले व्यक्त गरे।
_x000D_
_x000D_
शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो। नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१औं मुलुक बनेको छ। उक्त विश्वविद्यालय राष्ट्रसङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५/५५ बाट स्थापना भएको हो। सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ। सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ।
_x000D_
_x000D_
विश्वविद्यालयका शैक्षिक निर्देशक तथा अन्तर्राष्ट्रिय कानुन विभागका प्रमुख डा मिहिर कनाडेले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नाको कारणबारे जानकारी दिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।