धरान– धरानका दुई सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनमा रहेका बाल सञ्जालका अध्यक्ष रोशन शंकरले शुक्रबार फिनेल सेवन गरेका छन्।
नगर प्रमुखको कार्यकक्षमै फिनेल सेवन गरेका शंकरलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालय र धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा आवश्यक शिक्षकको व्यवस्था गर्न माग गर्दै विद्यार्थीहरू बिहीबारदेखि आन्दोलनमा छन्।
विद्यार्थीहरूले नगर प्रमुखको कार्यकक्षअगाडि बसेर माग सम्बोधन गर्न दबाब दिँदै आएका थिए। आन्दोलनकै क्रममा बिहीबार नगर प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरिएको थियो।
शुक्रबार साँझ आन्दोलन चलिरहेका बेला शंकरले नगर प्रमुखको कार्यकक्षभित्रै फिनेल सेवन गरेका हुन्। घटनापछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको हो।
दुवै विद्यालयमा आवश्यक विषयका शिक्षक व्यवस्थापन गर्नुपर्ने माग विद्यार्थीहरूको छ। शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको भन्दै उनीहरूले स्थानीय तहसँग तत्काल समस्या समाधान गर्न आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।