काठमाडौं– लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि २५ जिल्लामा भोलि पनि दिन र रात दुवै समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउन सुझाव दिइएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढेको छ भने विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भइरहेका छन्।
बढ्दो जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका ७७ जिल्लालाई जोखिमका आधारमा रातो, सुन्तला र पहेँलो गरी तीन वर्गमा विभाजन गरेको छ।
प्राधिकरणका अनुसार २५ जिल्ला रातो अर्थात् उच्च जोखिम क्षेत्रमा परेका छन्। यी जिल्लामा बाढी तथा पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधनलाई दिउँसो र राति दुवै समयमा पूर्णरूपमा रोक्न सुझाव दिइएको छ।
त्यसैगरी २९ जिल्ला सुन्तला रङको जोखिम क्षेत्रमा छन्। ती जिल्लामा रातिको समयमा सवारी सञ्चालन बन्द गर्न र दिउँसोको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आवश्यक निर्णय लिन भनिएको छ।
बाँकी २३ जिल्ला पहेँलो रङमा छन्। यी जिल्लामा भने सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमप्रति सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।
वर्षा जारी रहेकाले जोखिमयुक्त सडक तथा नदी–खोला आसपासको क्षेत्रमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई आधार बनाएर यात्रा गर्न सुझाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।