काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले खोजिरहेको छ कि छैन भनेर संसदमा प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले सहकारी संसदीय विशेष छानबिन समितिले रवि लामिछानेको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नरहेको भने पनि सरकारले प्रतिशोध साँधेको आरोप लगाए । सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष राई अझै पक्राउ परेका छैनन् । सांसद खनालले सकारले समितिको सिफारिस विपरित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत थपेको जिकिर गरे ।
‘बरु सरकार जीबी राईलाई खोज्दै छ कि छैन आजकल ? प्रतिवेदनमा कम्पनीमा आएको रकम परिचालनमा मात्रै संलग्न रहेको लेख्दालेख्दै पनि सहकारी ठगीमा पक्राउ गरियो । अनि पछि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा जोडियो । ८४ दिन हिरासतमा राखेर बल्ल मुद्दा दर्ता गरियो । अझै एउटा अदालतमा त मुद्दा पनि दर्ता भएको छैन । सरकार अल्झाइराखेको छ । सत्तापक्षका माननीयहरूलाई पनि सहकारी ठगीको आरोप लाग्यो सामान्य सोधपुछ गरेर छोडियो ।’ उनले संसद बैठकमा भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।