सुर्खेत - नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विदेशी संग ‘भिख’ मागेर देश समृद्धि नहुने बताएका छन् । विदेशीसँग सहयोगको नाममा भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने उनको भनाइ छ ।
‘गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव छैन,’ आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन । अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो । यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ ।’
कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भएको बताउँदै विप्लवले उत्पादन अभियानमा जोडिनुको विकल्प नभएको बताएका छन् । राजनीतिक आन्दोलनलाई उत्पादन, आर्थिक क्रान्तिमा जोड्न सकियो भने देश चाँडै परिवर्तनको दिशामा जान सक्ने उनको भनाइ छ ।
‘कृषि क्रान्तिलाई अगाडि बढाउन सकियो भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छौं,’ उनले भने, ‘अहिले हाम्रो पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन । डेढ वर्षमा नै राम्रो भएको छ।’
राजनीतिक गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृत्तिको अन्त्य गरिने पनि उनले बताए। १ महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरिएको जानकारी गराए । भेडा फार्ममा अहिले करिब १५० भेडाहरू रहेका छन् । भेडा पालन ९० वटाबाट सुरु गरिएको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।