काठमाडौँ –खानेपानीमन्त्री प्रदीप यादव शनिबार छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका तर्फबाट सहभागी हुन मन्त्री यादव आज भारत प्रस्थान गरेका हुन् ।
भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्रमा हस्ताक्षर हुने जनाईएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई श्रेष्ठले बताए ।
उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।