काठमाडौँ – राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताएकी छन् । उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी हुन् ।
बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताइन् ।
सांसद शारदादेवी भट्टले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साललाई न्याय दिलाउनुपर्ने माग गरिन् । उनले महिलामाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै भनिन्, “दुःखका साथ भन्नुपर्छ, निर्मला पन्थ, प्रकृति लम्साल, रिङ्कुकुमारी सदा जस्ता धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ”
सरकारले हालै जारी गरेका अध्यादेशको विरोध उपयुक्त नभएको तर्क गर्दै उनले सबै मिलेर तिनलाई पारित गर्नुपर्ने बताइन् । यस्तै प्रतिनिधिसभा सदस्य सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभाका बारेमा हालै दिएको अभिव्यक्तिप्रति उनले आपत्ति समेत जनाइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।