काठमाडौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले दिएको जनाधिकार रक्षामा निरन्तर संघर्ष गरिरहने बताएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनआन्दोलनको बलमा बनेको संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताए ।
“अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा सङ्घर्ष चलिरहेकै छ । हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ”, अध्यक्ष दाहालले भने, “एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लगेरै छाड्छौँ ।”
राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्नेगरी उनीहरुको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । माओवादीले समुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेकोे उनले बताए ।
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुङ्ग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।