काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनर्निर्माण गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब १० लाखको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनःनिर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिए । बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ ।
उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिए । नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।