काठमाडौँ – विभिन्न आठ वटा संसदीय समितिका बैठक आज (बुधबार) बस्दैछन् । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ जसमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुने बताइएको छ ।
बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका बारेमा छलफल हुनेछ । मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने सचिवालयले जानकारी दिएको छ ।
साढे १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।