काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि व्यवस्थापिका संसदको आयु शनिबार समाप्त हुने भएको छ।
सांसदलाई बिदाइ गर्ने कार्यक्रमबारे सभामुख ओनसरी घर्तीले तीन दलका नेतासँग शुक्रबार छलफल गरेकी छिन्। अब संसदमा रहेका ५९२ सांसदहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व हुने भएका छन्।
संसदको कार्यसूची भने शुक्रबारसम्मलाई मात्र तोकिएको छ। बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नेछन्।
निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरित व्यवस्थापिका संसद विघटन हुनेछ।
यसअघि कात्तिक ४ वा दोस्रो चरणको निर्वाचनका लागि मनोनयन गरेपछि समाप्त हुने तर्क गरिँदै आएको थियो। अवकाश पाउने सांसदहरुलाई यातायात खर्च दिएर बिदाइ गर्ने तयारी रहेको सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले बताए।
शुक्रबार बस्ने बैठकमा प्रतिनिधिसभा र चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारीमा सरकार छ। प्रदेश प्रमुखको पारिश्रमिक सम्बन्धी विधेयक पनि पारित गर्ने गरी कार्यसूची राख्ने सरकारको तयारी छ।
अहिले सभामुख र प्रधानमन्त्री चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयासमा रहेका छन्। यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यादेशबाट ल्याउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।