काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष कमल थापासहित चार मन्त्री सरकारमा जान लागेका हुन्।
थापाले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यसैगरी, उद्योग, शहरी विकास र आपूर्ति मन्त्रालय राप्रपाले पाउने भएको हो। कांग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चामा सहभागी भएपछि राप्रपा सरकारमा जाने निश्चित भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट संख्यामा कुरा मिलेपछि राप्रापाले केही दिनअघि नै सरकारलाई सर्मथन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो। यसअघि राप्रपा प्रजातान्त्रिकले सर्मथन गर्दै सरकारमा सहभागी भएको थियो।
संघीय समाजवादी फोरम र राजपा समेत मोर्चामा सहभागी भएपछि सरकार ३०२ सांसदको सर्मथनमा पुग्ने आँकलन भएपछि थापालाई सरकारमा ल्याउन लागिएको हो।
थापालाई उपप्रधानसहित गृह मन्त्रालय दिने भएपछि बिहानै पार्टीको कार्यसम्पादन समिति बैठक राखी पत्र तयार गरिएको थियो। एमालेले वामपन्थी मोर्चा निर्माण गरेपछि नेपाली कांग्रेसले थालेको नयाँ मोर्चा निर्माणको पहल अन्तर्गत राप्रपासँग सहमति भएको हो।
राप्रापा सरकारमा जाने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय मन्त्रालयको जिम्मा दिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।