काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतका दुई र राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठक आज बस्दैछन् । अर्थ समितिको बैठकमा बिहान ११ बजे बस्दैछ । जसमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकायसँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।
यस्तै साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बताइएको छ ।
दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत र छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।