काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र अहिले सुधारोन्मुख रहेको बताएका छन् । उनले ६ महिना पहिलाको जस्तो भयावह स्थितिमा नरहेको बताए ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भयावहको अवस्था नआउने समेत बताए ।
उनले अर्थतन्त्रमा नगद प्रवाह गर्न सरकार बन्नेबित्तिकै लामो समयदेखि भुक्तानी नदिने सरकारी रवैयालाई परिर्वतन गरेको समेत बताए । निर्माण व्यवसायीको कानूनसम्मत रुपमा सिर्जना भएको तर भुक्तानी नभएको विगत आर्थिक वर्षदेखिको ३० अर्ब रुपैयाँको दायित्व फरफारक गरेको उल्लेख गरे । ३५ जिल्लाका १५ लाख भन्दा बढी दुग्ध किसानलाई सरकार बनेको एक सय दिनभित्रै भुक्तानी दिएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगहरूको गठन गरिएको बताए ।
‘६ महिना अघिजस्तो अहिले अर्थतन्त्रमा भयावह स्थिति छैन । अर्थतन्त्रका परिसूचकहरु राम्रा छन् । पहिलेका ‘नराम्रा’ परिसूचकहरु सुधारोन्मुख छन् । अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र माग वढाउन सकिन्छ भनेर सरकार लागिपरेको छ ।’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।