काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्नेछन् । बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।
यसै गरी, राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभामा प्रस्तुत हुने ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लगायत अध्यादेश पनि पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नेछन् ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नेछन् ।
यता विपक्षी दलहरुले भने सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका विपक्षी दलहरुले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै विराध गर्ने निर्णय बिहीबारको बैठकमै गरीसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।