काठमाडौँ - नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुनु उचित नहुने बताएका छन् ।
बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किनु उचित नहुने बताएका हुन् । यस अघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)मा फर्किन लागेको चर्चाबीच उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतीकका रूपमा नवोदित संस्था भएको उल्लेख गर्दै ती संस्थालाई थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताए ।
उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए । उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस समेत नभएको स्पष्ट पारेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।