काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको विवादका कारण रोकिएको मतगणना मध्यान्ह १२ बजेबाट शुरू हुने भएको छ । रातो र नीलो दुवै मसीलाई मान्यता दिने सहमति भएसँगै सोमबार मध्यान्हबाट मतगणना हुने क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
रातो र नीलो दुवै रङका रेजालाई मान्यता दिने सहमति भएको छ, उनले भनिन्, ‘अब मध्यान्ह १२ बजेबाट मतगणना शुरू हुन्छ ।’ उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणनामा विवाद आएपछि आइतबार मतगणना अनिश्चित कालका लागि स्थगित भएको थियो ।
विश्वविद्यालय र उपत्यका विशेषको निर्वाचन समितिले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना स्थगित भएको जनाएका थिए । मतपत्रमा प्रयोग भएको मसीको विवादको कारण शनिबार देखि नै यी दुई प्रदेशको मतगणना हुन सकेको थिएन ।
सात प्रदेशको मतगणना सकिएपछि प्रदेशहरू मध्ये सबैभन्दा बढी मतदाता रहेको विशेषमा २६४ र विश्वविद्यालयमा २५८ मत गणना हुन बाँकी छ । गणना भइसकेको तर्फ सात प्रदेशमा हेडक्वार्टरका उम्मेदवार विजयप्रकाश सापकोटा २२ मतले अगाडि छन् । भने उनलाई हेमन्त राईले कडा टक्कर दिएका छन् । सापकोटाले ४७३ र राईले ४५१ मत ल्याएका छन् । उपाध्यक्ष उपदेश यादवले २०५ र सुदिन पौडेलले १४३ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।