काठमाडौँ –कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले प्यालेस्टाइनको गाजामा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सघाउन कतारसंग आग्रह गरेका छन् । सहजीकर्ताको भूमिका निर्वाह गर्न कतारका अमिरशेख तमिम बिन हमाद अल थानीसमक्ष अनुरोध गरेका हुन् ।
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै जोशीको रिहाइका निम्ति सहयोग गर्न आग्रह गरेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजदूत पौडेलले आइतबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा उक्त आग्रह गरेका हुन् । उनले गत अप्रिल २० मा अमिरबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलकातर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र त्यहाँका जनताको निरन्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारी अमिरले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिएको राजदूतावासले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।