काठमाडौँ – नेपाली कांग्रेसका पार्टी पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरूबीचको बैठक सिंहदरवारमा जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल सुरु भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूले गरिरहेका कामहरू थप प्रभावकारी र १८ गतेका लागि आह्वान गरिएको संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन आवश्यक छलफल भइरहेको प्रमुख सचेतक घिमिरेले जानकारी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा समेत उपस्थित रहेको बैठकमा पार्टीका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरू सहभागी रहेको उनले बताए ।
यस्तै आइतबारका लागि आह्वान गरिएको संसदीय दलको बैठकको तयारीका लागि पनि यो छलफल गरिन लागेको प्रमुख सचेतक घिमिरेले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।