स्थापित युवा पत्रकार अक्षर काकाको दोस्रो कृति 'देउती' गत वर्ष चर्चामा छाएको उपन्यास हो । परदेश बसाइका कारण पुस्तक ढिलोगरी हात पर्यो र भर्खरै पढेँ । परदेशको बसाइ, पैसाको लोभले बेचेको समय, अर्काको दबाबमा बसेर ऊर्जाशील दिनको हत्या गर्नुपर्ने बाध्यात्मक दिनचर्या । टुक्रा-टुक्रा निकालेको समयलाई एकढिक्का बनाउन नसक्नुले दिनहरु बेफुसर्दिला मात्रै भएनन्, एउटै उपन्यास सक्न समेत कयौं दिन लाग्यो।
काका कहिले जन्मिए, मैले आजसम्म उनको जन्मकुण्डली खोजेको छैन र कहाँ जन्मिए त्यो मलाई आवश्यक पनि छैन । हिउँदको जाडोमा जन्मिए वा गर्मीमा त्यो मेरो चासोको विषय होइन । तर, उपन्यासमा गुथिएका कथा र दृश्य नियाल्दा लाग्छ यो कुनै सिन्धुपाल्चोकको दुर्गम गाउँको यथार्थ चित्रण हो । उपन्याभित्र छिर्दै जाँदा यसका पात्र र परिवेशसँग गहन संवाद हुँदै गयो।
पुस्तक लेख्नु लेखकको आफ्नो कर्म हो । पढेपछि पाठकले अनुभूति लेख्न खोज्नु एउटा असफल प्रयास मात्रै हो । किनकि अनुभूतिलाई शब्दमा उतार्न होइन, महसुस गर्न मात्रै सकिन्छ । आख्यान पढिसकेपछि मैले केही लेख्ने दुस्साहस गर्नु भनेको पात्रहरुको आचरण, व्यवहार र उनीहरुको पीडाले पैदा गरिदिएको हुटहुटी मात्रै हो, समीक्षा होइन । किनकि समीक्षा लेख्नु समालोचकहरुको काम हो, पाठकको होइन।
मलाई पटक्कै लागेको थिएन, उपन्यास पढ्दा यसभित्रका भावना र चरित्रहरुले यसरी छुनेछ, म निस्कनै नसक्ने भावुकताको दलदलमा फस्नेछु । खासगरी देउती र साइँलादाइको चरित्रले यसरी प्रभावित भएँ, लाग्यो- यी दुवैलाई आफ्नो जिन्दगीमा सम्मिलित गराऊँ र गर्वानुभूतिले शिर ठड्याएर बाँचूँ।
यो आख्यान पढ्दा लेखकसँग अनुभूतिको विपुलता छ भन्ने सहजै जान्न सकिन्छ । खासगरी सुरुवातभन्दा अन्त्यमा प्रभावशालीता प्रचुर छ । बीचका हरेक संवादमा दृश्यहरु छन् । हरेक दृश्यमा नाटकीयता, परिवेशको गतिशीलता, मानवीय भाव र ऐन्द्रिक अनुभूति प्रशस्त छन्।
जसरी आजभन्दा लगभग सय वर्ष अगाडिको राणा शासनको चित्रण, जनताको चेतनाको स्तर र परिवेशलाई गहिरो अध्ययन गरेर 'प्रेतकल्प' मार्फत सिद्धहस्त आख्यानकार नारायण ढकालले उजागर गरे, त्यसरी नै कथालाई गति दिन ९० साल पछाडिका दृश्यहरु भए पनि तत्कालीन अवस्थामा नेपाली समाज, परिवेश, लोग्ने साथमा नहुँदा एउटी नारीले भोगेका कारुणिक शब्दचित्र 'देउती'ले उजागर गरेको छ।
कतिपय घटनाक्रमलाई लेखकले बडो चातुर्यताका साथ देखाएको दृश्य गुमनाम गराउनुले अझै अगाडि के होला भन्ने कौतुहल जाग्छ । जस्तो: देउतीको इज्जत लुट्न आएको मान्छे पछि नभेटिनु, बेसी झरेपछि जोगीको रुपमा आएको परपुरुष गुमनाम हुनु, उसको कटेरो जल्नुको कारण पत्ता नलाग्नु जस्ता दृश्य आफैंमा रहस्यमय छ।
कतै-कतै कुनै दृश्य-परिदृश्य मज्जाले खट्केको अनुभूति नगरेको पनि कहाँ हो र ? कोइराला कान्छा घर नफिरेपछि कुशको प्रतिमा बनाएर लाश उठाउँदै देउतीलाई विधवा बनाउँदा बुवाको अनुपस्थिति हुनु, पराजुली बाजे र जेठो कोइरालाको हिमचिमको संवाद नबाहिरिनु, बुवा बिरामी भएर माइत जाँदा माइत पुगिसकेकी छोरीको वास्तै नगरी हरे मिजारसँग एकोहोरो संवाद भइरहनु अलिक असहज लाग्छन्।
अन्त्यमा देउतीको कटेरो जल्यो । त्यसपछि देउती अझै बेसहारा भई ! बस्ने बास नपाएपछि आफैं देउघाट हिन्छिन् कि भन्ने अनुमान हुँदाहुँदै कथामा कतै देखा नपरेको पात्र ढकाल, कोइराला कान्छा देवघाट भएको र उसले भेट्ने इच्छा जाहेर गरेको खबर बोकेर टुप्लुक्क आइपुगे । लोग्ने भेट्ने इच्छाले भोलिपल्टै देवघाट हान्निएकी देउती पुग्नु केही घन्टाअगावै उनले प्राण त्याग गरे।
उपन्यासमा लेखकले बडो चलाखीका साथ चरित्र चित्रण गरेको भान हुन्छ । पुस्तक पढिसकेपछि पुरानो गीत 'गरिबको त चमेली बोल्दिने कोहि छैन' को झल्को नआउने पनि होइन।
यी सबै मेरा अनुभूति हुन् । यसको महसुस गर्न तपाईंले देउती पढ्नैपर्ने हुन्छ । तर, देउती पढेर तपाईंले पनि मैले झैं अनुभूति गर्नुहुन्छ भन्ने छैन । किनकि अनुभूतिहरु व्यक्तिपिच्छे फरक हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।