काठमाडौं – सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री नेपाली सेनाको हेलिकप्टरमार्फत खुर्कोट पुगेका छन्।
गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट गएका हुन्।
उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे।
अहिले उनीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल गरेका छन्।
सिन्धुलीको वस्तुस्थिति बुझेपछि मन्त्री लेखकसहितको टोली सेनाकै हेलिकप्टरमार्फत सिन्धुपाल्चोकको चौतारा र ललितपुरको महांकाल जाने कार्यक्रम रहेको जनाइको छ। बाढी प्रभावित क्षेत्रको अवलोकन पछि सेनाकै हेलिकप्टरमार्फत टोली काठमाडौं फर्किने मन्त्री लेखकको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।