झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्राको अध्ययनका लागि आर्थिक सहयोग गरेको छ। मञ्चले झापाको कमल गाउँपालिकामा तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले उक्त छात्रवृत्ति वितरण गरेका हुन्। छात्रवृत्ति प्राप्त गर्नेमा कमल गाउँपालिका–५ सिमलेकी बबिता राई, कमल–१ बाँसबारीकी अनु धिमाल, कमल–१ बाँसबारी शुक्रबारेकी दीपा विक छन्।
राई इलाम चुलाचुलाचुलीस्थित किराँत चोलुङ आधारभूत विद्यालयको कक्षा ३, धिमाल बाँसबारी माध्यामिक विद्यालयको कक्षा १ र विक बाँसबारी माध्यामिक विद्यायको कक्षा ८ की छात्रा हुन्।
विपन्न परिवारका राई र धिमाल दुवैका बाबुको मृत्यु भएको र दुवैका आमामा अपांगता भएका कारण पढाइ खर्च जुटाउन धौधौ परेकाले सहयोग गरिएको तामाङले बताए। कक्षा ८ की प्रथम छात्रा विक जेहेन्दार विद्यार्थी हुन्। उनका बुबा वैदेशिक रोजगारीमा छन्।
कार्यक्रममा मञ्चका अस्ट्रेलिया अध्यक्ष दीपक खनाल र खिम भण्डारीको पहलमा प्राप्त छात्रवृत्ति रकम प्राप्त भएको तामाङले बताए।
तामाङले विदेशी भूमिमा बसेर पनि आर्थिक अभावका कारण पढाई छाड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि सहयोग गरेको भन्दै मञ्च र त्यसका पदाधिकारीलाई धन्यवाद दिए।
यो वर्ष मात्र देशका विभिन्न स्थानमा ५० विद्यार्थीलाई त्यस्तो छात्रवृत्ति उपलब्ध गराइएको मञ्चले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।