काठमाडौँ- इन्द्र जात्रा हेर्नका लागि मंगलबार हनुमानढोका दरबार क्षेत्रमा सर्वसाधारणको घुइँचो लागेको छ। राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणसम्मले इन्द्रजात्राको अवलोकन गरेका छन्।
जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन्।
आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।