काठमाडौं– साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा उछाल आएको छ।
_x000D_
_x000D_
मंगलबार नेप्से परिसूचक २२ दशमलब २२ अंकले बढेर १ हजार २ सय ७९ दशमलब ९० को बिन्दूमा आइपुगेको छ। यता लामो समयपछि कारोबार रकम अर्ब नाघेको छ। यस दिन १ सय ७३ कम्पनीको १ अर्ब ७ करोड ४२ लाख ८ हजार ३४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D_
_x000D_
मंगलबार ‘अन्य समूह’बाहेक सबै समूहमा हरियाली छाएको छ। ‘अन्य समूह’मा १ दशमलब ४६ अंकले गिरावट आएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहका लगानीकर्ताले कमाएका छन्। समूहको सेयर मूल्य ४९ दशमलब १९ अंकले बढेको छ। त्यस्तै, जीवन बिमा समूहको कारोबार ३७ दशमलब ३६ अंकले बढेको छ।
_x000D_
_x000D_
मंगलबार कारोबार रकम अर्ब नघाउन प्रभु बैंकले उल्लेख्य भूमिका खेलेको छ। बैंकको ८ करोड ५१ लाख ४८ हजार ७ सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनआइसी एसिया बैंकको ५ करोड ९८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
_x000D_
_x000D_
मंगलबार सर्वाधिक कमाउनेमा भागर्व विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ अर्थात ९ दशमलब ८२ प्रतिशतले बढेको छ। त्यस्तै, सनराइज बैंकका लगानीकर्ताले प्रतिकित्ता २० रुपैयाँ कमाएका छन्। यता सर्वाधिक गुमाउनेमा गोर्खा फाइनान्सका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।