चितवन- भरतपुर महानगरपालिका–१ आँपटारीमा आइतबार बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। रुख पन्छाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले जानकारी दिए।
दुर्घटनामा तीन जना घाइते
यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन्।
मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो। ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो। घाइते सबैको अवस्था मध्यम छ। उहाँका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ।
यस्तै सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन्। भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो। ठक्करबाट तीन वटै सवारीसाधनमा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।