काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माओवादी र एमालेबीचको वाम एकता दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
काठमाडौंमा बिहीबार प्रवासी जनसम्पर्क मञ्चले संयोजन गरेको कार्यक्रममा बोल्दै उनले साम्यवाद र कम्युनिज्म स्थापना गर्ने उनीहरुको लक्ष्यलाई जनताले परास्त गर्ने बताए।
'दस वर्षभित्रै साम्यवाद स्थापना गर्ने जुन उनीहरुले भन्दै आएका छन्, त्यो सफल हुँदैन,' उनले भने, 'संसारभर असफल भएको विचारलाई फेरि पुनर्स्थापित गर्ने लक्ष्य कुनै हालतमा नेपालमा सफल हुँदैन। यो निर्वाचनले नै उनीहरुले थाहा पाउनेछन्।'
दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने र एकदलीय शासन चलाउने वाम गठबन्धनको सोच कुनै हालतमा पूरा नहुने बताउँदै नेता महतले लोकतन्त्रमार्फत समाजवाद स्थापना गर्न लागिपरेको कांग्रेसविरुद्ध उनीहरु षड्यन्त्रमा लागेकाले सचेत हुन आग्रह गरे।
उनले नेपालसँगको सम्बन्ध अटुट रुपमा कायम राख्न पनि प्रवासी नेपालीहरुसँग अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।